कार्तिक १६, २०७२- भारतीय विदेश मन्त्रालयले विज्ञप्ती जारी गरी सोमबार वीरगञ्जमा भएको झडपप्रति गहिरो चासो व्यक्त गर्दै प्रहरीको गोली लागी निर्दोष भारतीय नागरिकको मृत्यु भएको जनाएको छ ।
‘वीरगञ्जमा आज भएको घटनाप्रति हामी गम्भीर चासो व्यक्त गर्दछौं’, विज्ञप्तीमा भनिएको छ,‘फायरिङमा निर्दोष भारतीय नागरिकको मृत्यु भएको छ ।’ विज्ञप्तीमा नेपालले भोगेको समस्या राजनीतिक भन्दै बल प्रयोगले यसको समाधान ननिस्कने बताइएको छ । ‘अहिले देखिएको भिडन्तको अवस्था नेपाल सरकारले प्रभावकारी र विश्वसनीय ढंगबाट सम्बोधन गर्नुपर्छ,’ विज्ञप्तीमा भनिएको छ ।
सीमा नजिकै भएको घटनाले भारतीय यातायात व्यवसायीहरु पुन: त्रसित भएको विज्ञप्तीमा भनिएको छ । ‘हामीले उनीहरुलाई जोखिममा नपर्न आग्रह गरेका छौं,’ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘हामीले अवस्थाको सुक्ष्म अवलोकन गरिरहेका छौं ।’

0 comments:

Post a Comment

 
Top